
२४ भदौ, काठमाडौं । देशको राजनीतिक र प्रशासनिक इतिहासमै अभूतपूर्व घटना आज घटेको छ। व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका — राज्यका तीनै अंग मानिने प्रमुख निकायहरू आन्दोलनकारीको पूर्ण नियन्त्रणमा पुगेका छन्।
संसद भवन, सिंहदरबार र सर्वोच्च अदालतलगायतका संरचनामा आन्दोलनकारीहरूले कब्जा जमाएर तोडफोड र आगजनी गरेका छन्। नयाँ बानेश्वरस्थित संसद भवनमा अहिले आन्दोलनकारीहरूको सम्पूर्ण नियन्त्रण रहेको छ भने त्यहाँका अधिकांश भौतिक संरचना ध्वस्त पारिएका छन्। प्रदर्शनकारीहरूले संसदभित्रै आगजनी गरी ठूलो क्षति पुर्याएको प्रारम्भिक विवरण आएको छ।
त्यस्तै, सिंहदरबार परिसरभित्र प्रवेश गरेर आन्दोलनकारीहरूले तोडफोड गरेका छन्। कार्यपालिका सञ्चालन हुने मुल केन्द्रमै यसरी प्रदर्शनकारीहरूको प्रवेशसँगै प्रशासनिक कार्यसम्पादन ठप्प भएको छ।
न्यायपालिकाको केन्द्र मानिने सर्वोच्च अदालतसमेत आन्दोलनकारीको नियन्त्रणमा पुगेको छ। सर्वोच्चसँगै महान्याधिवक्ताको कार्यालय, नेपाल बार एसोसिएसन, काठमाडौं जिल्ला अदालतलगायत कानूनी निकायमा समेत आगजनी गरिएको छ।
स्थिति नियन्त्रण बाहिर पुगेपछि सुरक्षा निकायका प्रमुख, प्रशासनिक निकायका प्रमुख र सम्बन्धित निकायका जिम्मेवार व्यक्तिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै अब अवस्था आफ्नो नियन्त्रणमा नरहेको सार्वजनिक गरेका छन्। उनीहरूले शान्ति, संयम र समाधानका लागि सबै पक्षलाई अपिल गरेका छन्।
यो घटनाले देश गम्भीर राजनीतिक तथा कानूनी संकटतर्फ धकेलिएको संकेत गरेको विश्लेषकहरूको भनाइ छ।