
२४ भदौ, काठमाडौं। प्रधानसेनापति सहित नेपालका सबै सुरक्षा निकायका प्रमुखहरुले देशमा उत्पन्न परिस्थितिको शान्तिपूर्ण समाधानका लागि राजनीतिक संवादलाई प्राथमिकता दिन आग्रह गरेका छन्।
प्रधानमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा थप अस्थिरता र जनधनको क्षति हुन नदिन संयमित रहन आम नागरिकलाई अपिल गरिएको छ।
मुख्य सचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले संयुक्त विज्ञप्ति जारी गर्दै सो आह्वान गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ, “सम्माननीय प्रधानमन्त्रीज्यूको राजीनामा स्वीकृत भइसकेको हुँदा यस परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक आह्वान गर्दछौं। यस विषयमा राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा हार्दिक आह्वान गर्दछौं।”
सुरक्षा निकायका शीर्ष पदाधिकारीहरुको संयुक्त आह्वानलाई मुलुकको संवेदनशील अवस्थामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। राजनीतिक संवादमार्फत् स्थिरता कायम गर्न र शान्तिपूर्ण समाधान खोज्न सबै पक्षमा दबाब दिने उद्देश्यले यो कदम चालिएको विश्लेषण गरिएको छ।