
२४ असोज, काठमाडौं — विदेशबाट आउने रेमिट्यान्सको सीमा अब दैनिक २५ लाख रुपैयाँसम्म बढाइएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको नयाँ परिपत्रमार्फत रेमिट्यान्स कारोबारको सीमा विस्तार गर्दै यससम्बन्धी व्यवस्था लागू गरेको हो।
संशोधित परिपत्रअनुसार अब नेपाली नागरिक, विदेशी नागरिक, वा नेपालमा दर्ता भएका फर्म, संस्था, शाखा कार्यालय तथा कर्मचारीहरूले बिक्री, कमिसन, शुल्क वा पारिश्रमिकका विभिन्न प्रयोजनका लागि विदेशबाट फिर्ता नहुने रकम पठाउन सक्नेछन्। यस्तो रकम अब इजाजतप्राप्त विप्रेषण कम्पनीमार्फत लाभग्राहीको खातामा जम्मा गर्न सकिनेछ।
नयाँ व्यवस्थाअनुसार दैनिक अधिकतम २५ लाख रुपैयाँ (एकपटक वा पटक–पटक गरी)सम्मको रकम ल्याउन सकिनेछ, जुन यसअघि २० लाख रुपैयाँमा सीमित थियो। केन्द्रीय बैंकले यो निर्णयले वैदेशिक आयको प्रवाहलाई सहज बनाउने र व्यवसायिक कारोबारलाई थप पारदर्शी बनाउने विश्वास व्यक्त गरेको छ।
राष्ट्र बैंकले विप्रेषण कारोबार गर्ने कम्पनीहरूलाई प्रत्येक महिना समाप्त भएको सात दिनभित्र उक्त कारोबारको विवरण विदेशी विनिमय व्यवस्थापन विभाग, सम्बन्धित सुपरिवेक्षण विभाग र आर्थिक अनुसन्धान विभागमा पेश गर्न निर्देशन दिएको छ।
यो संशोधनले वैदेशिक कारोबारमा संलग्न कम्पनीहरूलाई थप लचिलो वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ।