गाजामा मानवीय संकट गहिरिँदै

फोटो फिचर अन्तर्राष्ट्रिय समाचार

इजरायली सेनाले उत्तरी गाजाका १४ क्षेत्र खाली गर्न आदेश दिएको छ। खाद्य अभावका कारण २९ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ। अन्तर्राष्ट्रिय समुदायले इजरायलको नाकाबन्दी र मानवीय सहायता अवरोधको आलोचना गरेको छ ।

गाजामा मानवीय संकट दिन प्रतिदिन गहिरिँदै गएको छ, जहाँ लाखौं मानिसहरू भोक, रोग, र निरन्तर असुरक्षाको चपेटामा परिरहेका छन्। इजरायली नाकाबन्दी र सैन्य आक्रमणका कारण गाजाको जनजीवन पूर्ण रूपमा ठप्प भएको छ भने अन्तर्राष्ट्रिय मानवीय सहायता अवरुद्ध हुँदा अवस्था झनै भयावह बन्न पुगेको छ। संयुक्त राष्ट्रसंघ, विश्व स्वास्थ्य संगठन लगायतका संस्थाहरूले दिएको चेतावनी अनुसार गाजामा स्वास्थ्य सेवा प्रणाली पूर्ण रूपमा ध्वस्त भइसकेको छ, अधिकांश अस्पतालहरू बन्द छन्, र बाँकी रहेका स्वास्थ्य संस्थाहरू पनि इन्धन, औषधि र जनशक्ति अभावका कारण आंशिक रूपमा मात्र सञ्चालनमा छन्।

 

विश्व खाद्य कार्यक्रम (WFP) ले अन्तिम पटक खानेकुरा वितरण गरिसकेको बताएपनि गाजामा खानेकुराको निकै अभाव देखिएको छ।जसको कारणले लाखौं मानिस भोकै बस्न बाध्य भएका छन्।६५,००० भन्दा बढी बालबालिका गम्भीर रुपमा कुपोषणका सिकार भएका छन् र धेरै बालबालिकाको ज्यान जाने खतरा अझै बढेको छ। गाजामा राहत सामग्री पुर्‍याउने काम पनि रोकिएको छ। ७ देखि १३ मे २०२५ सम्म गरिएका ५३ वटा सहायता अभियानमध्ये ३१ वटा अनुमति नदिइएका कारण गाजामा अत्यावश्यक खाना, पानी, औषधि र अन्य राहत सामग्री पुर्‍याउन नसकिएको हो।

गाजाको संकटप्रति अन्तर्राष्ट्रिय समुदायले गम्भीर चिन्ता प्रकट गरे तापनि इजरायली सरकारले सुरक्षा कारण देखाउँदै सहायता वितरणमा कडाइ गरिरहेको छ। संयुक्त राष्ट्रसंघ बाल अधिकार समितिले गाजामा बालबालिकाहरूको सामूहिक भोकमरीको निन्दा गर्दै तत्काल मानवीय सहायता पुर्‍याउन अपिल गरेको छ। गाजामा बालबालिकादेखि वृद्धवृद्धासम्म सबै जनसंख्या जीवन-मरणको दोसाँधमा छन्, र यदि तत्काल ठोस कदम चालिएन भने यो संकट आधुनिक इतिहासकै एक भयावह मानव त्रासदी बन्न सक्ने स्पष्ट सङ्केतहरू देखिएका छन्।

Leave a Reply