
१३ वर्षे सेवाअवधिमा ९६ लाख बढीको अवैध सम्पत्ति — पत्नीको नाममा समेत सम्पत्ति दर्ता
काठमाडौं । सरकारी सेवामा रहँदा पदीय हैसियतको दुरुपयोग गर्दै करोडौँको अवैध सम्पत्ति आर्जन गरेको आरोपमा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, भृकुटीमण्डप, काठमाण्डौंका निर्देशक (सि.डि.ई.) सचिन्द्र कुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विस्तृत छानबिनमा, उनले १३ वर्षे सेवाअवधिमा करिब ९६ लाख रुपैयाँ बराबरको सम्पत्तिको वैधानिक स्रोत देखाउन नसकेको तथ्य उजागर भएको हो।
छानबिनअनुसार, २०६६ साल जेठ २४ गतेदेखि २०७९ साल साउन २९ गतेसम्म सचिन्द्र कुमार यादव र उनका परिवारले पारिश्रमिक, भत्ता, बीमा रकम, हिमाल आरोहण भत्ता, परामर्शदाताको पारिश्रमिक, घरभाडा, कृषि आय, जग्गा बिक्री, बैंक ब्याज, शेयर बिक्रीजस्ता शीर्षकबाट कूल रु. २ करोड ६८ लाख १८ हजार ९०० रुपैयाँ ७२ पैसा आम्दानी गरेका थिए।
तर सोही अवधिमा घरजग्गा खरिद, घर निर्माण, कर्जा भुक्तानी, शेयर खरिद, शैक्षिक खर्च, बीमा प्रिमियम, बैंक मौज्दातलगायतमा कूल रु. ३ करोड ६५ लाख ४ हजार ४५३ रुपैयाँ ९१ पैसा खर्च तथा लगानी भएको देखिएको छ। आयभन्दा खर्च करिब रु. ९६ लाख ८५ हजार ५५३ रुपैयाँ १९ पैसा बढी भएको र सो रकमको स्रोत वैधानिक रुपमा पुष्टि गर्न नसकेपछि आयोगले यसलाई गैरकानूनी सम्पत्ति ठहर गरेको हो।
कानूनी कारबाही:
भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो बराबरको जरिवाना र कैद सजाय माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ। साथै, वास्तविक सम्पत्ति विवरण लुकाएर झूटो विवरण पेस गरेको अभियोगमा थप सजायको माग गरिएको छ।
पत्नीलाई पनि प्रतिवादी:
छानबिनमा गैरकानूनी सम्पत्तिको केही हिस्सा पत्नी आशा कुमारी यादवको नाममा दर्ता गरिएको पाइएकोले, सो सम्पत्ति जफत गर्न उनको विरुद्ध पनि प्रतिवादीका रूपमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।