घर कर्जा (Home Loan) सम्बन्धी सम्पूर्ण जानकारी

जानकारी घर जग्गा समाचार

परिभाषा

घर कर्जा भनेको बैंक वा वित्तीय संस्थाले ग्राहकलाई जग्गा खरिद गर्न, भैरहेको जग्गामा घर निर्माण गर्न, भैरहेको घरलाइ मर्मत गर्न र नया तथा पूरानो घर वा अपार्टमेन्ट खरिद गर्ने उद्देश्यले दिने दीर्घकालीन कर्जा हो।

घरजग्गा खरिद / निर्माण कर्जाको सिमा कति सम्म हुन्छ ?

सामान्यतया घरजग्गा खरिद निर्माण कर्जा को सिमा ५ लाख देखि ५ करोड सम्म हुन्छ तर बैंक तथा बित्तिय संस्था हेरी सिमामा केहि फरक हुन सक्छन् ।

घर जग्गा मूल्याङ्कन को कति सम्म कर्जा लिन पाईन्छ ?

बैंक तथा बित्तिय संस्थाहरुले बजार मूल्य र सरकारी मूल्यलाई मिलाएर Fair Market  Value(FMV) निकाल्छन र त्यही FMV को ७०% सम्म तथा प्रथम पटक घर/जग्गा खरिद कर्ता ले ८०% सम्म घरजग्गा खरिद निर्माण कर्जा लिन मिल्छ ।

कस्तो घर वा जग्गामा कर्जा पाइन्छ?

१) जग्गा तथा घरको स्वामित्व स्पष्ट भएको

  • जग्गाको लालपुर्जा (जग्गा दर्ता प्रमाणपत्र) शुद्ध र विवादरहित हुनुपर्छ।
  • कुनै किसिमको विवाद, मुद्दा, धितो, रोक्का वा बन्धकी नभएको हुनुपर्छ।
  • मोही नलागेको,चार किल्ला स्पस्ट भएको,Hightension  Line नपरेको, राजकुलो तथा खोला नपरेको हुनुपर्छ।

२) सडक र पहुँच भएको

  • जग्गा/घरमा सार्वजनिक बाटो (सडक) को न्यूनतम पहुँच कम्ति मा ८ फीट हुनुपर्छ।
  • घेराभित्र मात्र भएको, बाटो नभएको जग्गामा बैंकले कर्जा दिन्न।

३) सुनियोजित क्षेत्र / नगरपालिकाको स्वीकृति भएको

  • काठमाडौं उपत्यकामा Building Permit (नक्शा पास गरिएको) घरलाई मात्र बैंकले कर्जा दिन्छ।
  • अव्यवस्थित बस्ती, खेत, खेतमै घर बनाइएको (नक्सा पास नभएको) मा प्रायः कर्जा मिल्दैन।
  • जग्गा कृषि प्रयोजन (धानबारी/खेतीयोग्य मात्र) भएकोमा बैंकले कर्जा दिदैन, आवासीय/सिटिङ प्लट मात्र कर्जा पाइन्छ।

४) बजार मूल्य र बिक्री योग्य भएको

  • बैंकले सधैं Collateral Value (धितो मूल्यांकन) गर्छ।
  • यस्तो सम्पत्ति हुनुपर्छ जुन भविष्यमा जरुरी परे बैंकले सजिलै बेच्न सक्छ।
  • दुर्गम वा खरिदबिक्री कम हुने ठाउँमा कर्जा सीमित मात्र हुन्छ।

५) नयाँ घर खरिद / निर्माण, वा पुरानो तर प्रयोगयोग्य घर

  • नयाँ वा निर्माणाधीन घरमा सजिलै कर्जा पाइन्छ।
  • पुरानो घर भए पनि बस्न मिल्ने, सुरक्षित र कानुनी रुपमा प्रमाणित भएमा कर्जा पाइन्छ।
  • भत्किन लागेका वा असुरक्षित संरचनामा कर्जा पाइँदैन।

कर्जा अवधि (Tenure) र भुक्तानी तरिका

  • प्रायः ५ वर्षदेखि २५ वर्षसम्म (बैंक अनुसार फरक पर्छ)
  • मासिक किस्ता (EMI) मा तिर्ने
  • EMI मा मूलधन + व्याज दुवै समावेश हुन्छ
  • लामो अवधिको लागी कर्जा लिए मासिक किस्ता (EMI) कम हुन्छ तर कुल व्याज भने बढी तिर्नु पर्छ।

घरजग्गा खरिद निर्माण कर्जा लिन आम्दानी कति हुन पर्छ ?

बैंक तथा बित्तिय संस्था ले कर्जा को माषिक / त्रैमशिक किस्ता र कर्जा आवेदक को आम्दानीको हिसाब गरि ऋण भुक्तानी आम्दानी अनुपात  Debt Burden  Ratio ७०% सम्म हुने गरि घरजग्गा खरिद निर्माण प्रयोजन को लागि कर्जा प्रदान गर्ने गर्दछन ।

कस्तो आम्दानीलाई मान्यता दिन्छ

१) नोकरी/तलब आम्दानी (Salary Income)

  • सरकारी जागिर वा निजी क्षेत्रको स्थायी जागिरको तलब स्लिप, कर तिरेको प्रमाण, रोजगार करारपत्र
  • विदेश रोजगारमा रहेका व्यक्तिको विदेशी आम्दानी (Remittance), बैंकिङ च्यानलमार्फत आएको रकम

२) व्यवसाय/उद्योग आम्दानी (Business Income)

  • दर्ता भएको व्यवसाय वा कम्पनीको वार्षिक कर विवरण (Tax Return)
  • लेखापरीक्षित वित्तीय प्रतिवेदन (Audited Financial Statement)
  • PAN/VAT मा दर्ता भएको र नियमित कारोबार देखिएको खाता

३) भाडा आम्दानी (Rental Income)

  • घर, कोठा वा जग्गा भाडामा दिएको छ भने भाडा सम्झौता (Rental Agreement)
  • भाडा भुक्तानी बैंक खातामार्फत आएको देखाउनु पर्ने
  • केही बैंकले कर तिरेको प्रमाणपत्र पनि माग्छन्

४) कृषि आम्दानी (Agriculture Income)

  • कृषक प्रमाणपत्र (स्थानीय तहले दिने)
  • उत्पादन/बिक्री प्रमाण (उदाहरण: डेरी फार्म, कुखुरा फार्म, तरकारी बिक्री आदि)
  • ठूलो परिमाणको कृषि आम्दानी भएमा कर तिरेको प्रमाण

५) अन्य नियमित आम्दानी

  • पेंशन (Pension) – अवकाश प्राप्त सरकारी कर्मचारी वा कम्पनी कर्मचारी
  • Interest / Dividend Income – बैंकमा रहेको Fixed Deposit वा सेयर लगानीको लाभांश
  • Freelance वा Professional Income – वकिल, डाक्टर, इन्जिनियर, कन्सल्ट्यान्ट आदि पेशागत सेवाबाट आएको, करसहित प्रमाणित आम्दानी

आवश्यक कागजातहरू

  • नागरिकताको प्रतिलिपि
  • जग्गा दर्ता प्रमाणपत्र (लालपुर्जा)
  • नापी नक्शा, मुचुल्का, भवन निर्माण स्वीकृति पत्र
  • आय प्रमाण (तलब स्लिप, कर विवरण, कारोबार विवरण आदि)
  • पासपोर्ट साइज फोटो

जोखिम तथा ध्यान दिनुपर्ने कुराहरु

⚠️ समयमै किस्ता नतिरे घर जग्गा नै लीलामी हुन सक्छ
⚠️ व्याजदर बढ्दा EMI पनि बढ्न सक्छ र EMI बढे खर्चको सन्तुलन बिग्रन पुग्छ ।
⚠️ बढी कर्जा लिएमा जीवनशैलीमा दबाब आउन सक्छ

छोटकरीमा भन्नुपर्दा, नेपालमा घर कर्जा दीर्घकालीन लगानी हो, तर यसमा जानु अघि आफ्नो आय–व्यय, स्थिरता र भविष्यको क्षमता राम्रोसँग मूल्याङ्कन गर्न जरुरी हुन्छ।

Leave a Reply