काठमाडौं – नेपालको निजी क्षेत्रबाट निर्माण हुन लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना बुढीगण्डकी जलविद्युत् आयोजना (३४१ मेगावाट) ले आर्थिक बन्दोबस्ती (Financial Closure) सम्पन्न गरेको छ। यस आयोजनाका लागि १० वटा बैंक तथा वित्तीय संस्थाले कुल ७० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक को नेतृत्वमा, नबिल बैंक, लक्ष्मी सनराइज बैंक, र ग्लोबल आइएमई बैंक सह-नेतृत्वमा रहेका छन् भने ६ अन्य बैंक तथा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (HIDCL) पनि लगानीकर्ताका रूपमा सहभागी छन्।
लगानीकर्ता सुसिल थापाका अनुसार, आयोजनाको अनुमानित लागत ७० अर्ब रुपैयाँ रहेको छ, जसमा ७५ प्रतिशत (५२.५ अर्ब) ऋण तथा २५ प्रतिशत (१७.५ अर्ब) स्व-पुँजी (इक्विटी) मार्फत व्यवस्थापन गरिनेछ। इक्विटी लगानीमा सहास उर्जा ५१ प्रतिशत हिस्सा सहित प्रमुख लगानीकर्ता रहनेछ भने टाइम्स इनर्जी प्रा. लि. यस आयोजनाको प्रवद्र्धक कम्पनी हो। यस्तो सहकार्यले निजी क्षेत्रको जलविद्युत् क्षेत्रमा बढ्दो चासो र आत्मनिर्भरता झल्काउँछ।
पिकिङ रन-अफ-द-रिभर (PRoR) प्रकारको यो आयोजना गोरखाको चुमनुव्री र धार्चे गाउँपालिकामा निर्माण हुनेछ। यस अन्तर्गत प्रति दिन ५ घण्टा विद्युत् उत्पादन गर्न सक्ने जलाशय निर्माण गरिनेछ, र प्रत्येक ५७ मेगावाट क्षमताका ६ वटा अण्डरग्राउन्ड पेल्टन टरबाइन को प्रयोग गरी विद्युत् उत्पादन गरिनेछ। कम्पनीले २०८७ पुष १५ (डिसेम्बर ३०, २०३०) भित्र व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ। आयोजना सम्पन्न भएपछि वार्षिक १,८६७ GWh विद्युत् उत्पादन हुने अनुमान गरिएको छ।
उत्पादित विद्युत् ४५ किलोमिटर लामो २२० केभी प्रसारण लाइन मार्फत रतमाटे सबस्टेशन सम्म पुर्याइनेछ, जसको निर्माणमा एमसीसी (Millennium Challenge Corporation) को सहयोग रहनेछ। तामोर (२८५ मेगावाट) आयोजना पछाडि पार्दै, बुढीगण्डकी आयोजना निजी क्षेत्रबाट निर्माण हुने नेपालकै सबैभन्दा ठूलो जलविद्युत् परियोजना बनेको छ, जसले मुलुकको ऊर्जा सुरक्षामा दीर्घकालीन योगदान पुर्याउने अपेक्षा गरिएको छ।