भक्तपुर मालपोत प्रमुख र कार्यालय सहयोगी घुससहित पक्राउ

घर जग्गा फोटो फिचर समाचार

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतमाथि घुस प्रकरणमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार, उनीहरूले सेवाग्राहीसँग १४ रोपनी ४ आना क्षेत्रफलको जग्गा मोही बाँडफाँड तथा नामसारीका लागि जग्गाधनी प्रमाण पूर्जा उपलब्ध गराउने बहानामा रु. २४ लाख ५० हजार घुस मागेको प्रमाणित भएको छ।

आरोप अनुसार, सेवाग्राहीबाट घुस रकम लिन पूर्वयोजना बनाएर आचार्य र राउतले मिलेमतो गरेका थिए। आयोगबाट खटिएको टोलीले कार्यालय परिसरमै राउतको साथबाट रु. २४ लाख ५० हजार रकम बरामद गरेको थियो। सो क्रममा दुवैको मोबाइल उपकरण पनि नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।

अनुसन्धानको क्रममा, प्रतिवादीहरूले जिल्ला भक्तपुर, साविक चाँगुनारायण गा.वि.स.–५ख स्थित जग्गा मोही बाँडफाँड/नामसारी प्रक्रियामा ‘सहजीकरण’ गर्ने नाममा घुस लिएको पुष्टि भएको हो। आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिम बिगो कायम गर्दै दुवैलाई कैद सजाय र बिगो बराबरको जरिवाना माग गर्दै मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ताले भने, “यो प्रकरणले सरकारी कार्यालयभित्र हुने संगठित घुस प्रथाको अर्को उदाहरण प्रस्तुत गरेको छ। यसरी संलग्न हुने कर्मचारीलाई कानुन बमोजिम कडा कारबाही हुन्छ।”

यससँगै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वसाधारणलाई घुस, भ्रष्टाचार वा अनियमितताबारे जानकारी भएमा तत्काल उजुरी दिन आग्रह गरेको छ। आयोगको भनाइमा, सार्वजनिक सेवामा पारदर्शिता र जवाफदेहिताको सुनिश्चितताका लागि यस्ता कारबाहीलाई निरन्तरता दिइनेछ।

Leave a Reply