“Nepse AI” एपको जालमा परेर लाखौँ रुपैयाँ गायब! – CIB को कडा चेतावनी

समाचार फोटो फिचर

काठमाडौं, २७ साउन — शेयर बजारमा चमत्कारी नाफा कमाउने लोभ देखाएर ठग्ने नयाँ जालो सार्वजनिक भएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) का अनुसार, पछिल्ला केही दिनयता सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र टिकटोकमा ‘Nepse AI’ नामक एप डाउनलोड गर्न लगाई कृत्रिम बुद्धिमत्ताले (AI) शेयर बजारको विश्लेषण गरी बढीभन्दा बढी नाफा कमाउन सकिन्छ भन्ने भ्रामक प्रचार भइरहेको छ। तर, यो प्रचारको पछाडि ठगहरूको ठुलो जालो लुकेको पाइएको छ। ब्यूरोका अनुसार, पीडितलाई उक्त एप डाउनलोड गर्न प्रेरित गरिन्छ र इन्स्टल गरेपछि रिमोट सेसन खोली पीडितको बैंक खातामा भएको सम्पूर्ण रकम क्षणभरमै अन्यत्र ट्रान्सफर गरिन्छ। यति मात्र होइन, पीडितको मोबाइल वा कम्प्युटरमा रहेको सम्पूर्ण डेटा समेत मेटाएर प्रमाण नष्ट गरिन्छ।

ब्यूरोले उदाहरणस्वरूप एक घटनाको विवरण पनि सार्वजनिक गरेको छ। ‘जोन डोइ’ (सांकेतिक नाम) नामक एक व्यक्तिले फेसबुकमा देखिएको विज्ञापनबाट Nepse AI एप डाउनलोड गरे। एप इन्स्टल भएको केही क्षणमै रिमोट सेसन खुल्यो, मोबाइलको स्क्रिन केही समय ब्ल्याङ्क भयो र विभिन्न बैंक खातामा भएको रु २८ लाख ६१ हजार रकम तुरुन्तै अन्य खातामा पठाइयो। त्यसपछि उनको मोबाइलमा रहेको सम्पूर्ण डेटा र एपहरू समेत मेटाइयो। ब्यूरोले यस्ता उजुरीहरू अहिले मात्र नभई विगतमा पनि थुप्रै प्राप्त भएको बताएको छ।

यस्ता घटनाबाट बच्न CIB ले तत्काल सतर्क रहन आग्रह गरेको छ। ब्यूरोका अनुसार, दुई तहको पासवर्ड सुरक्षा (Two-factor Authentication) अनिवार्य प्रयोग गर्नुपर्छ, पासवर्ड समय समयमा परिवर्तन गर्नुपर्छ, विज्ञापनमार्फत आएका अपरिचित एप कहिल्यै पनि इन्स्टल गर्नु हुँदैन, AnyDesk वा TeamViewer जस्ता रिमोट एक्सेस कसैलाई पनि दिनु हुँदैन, र आधिकारिक स्रोत — Google Play Store वा iOS App Store — बाट मात्र एप डाउनलोड गर्नुपर्छ।

घटना घटेको थाहा पाउनासाथ तत्काल सम्बन्धित बैंक वा वित्तीय संस्थामा सम्पर्क गर्न, नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा खबर गर्न CIB ले आग्रह गरेको छ। ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक युवराज खड्काले सर्वसाधारणलाई प्रलोभनमा नपरी डिजिटल सुरक्षामा उच्च सतर्कता अपनाउन अपिल गरेका छन्।

Leave a Reply