मानव तस्करीको प्रयास विफल, ७ नेपाली महिला उद्दार:

समाचार फोटो फिचर

भारत–नेपाल सीमा क्षेत्र पानीटंकी बजार नजिकै गत शुक्रबार साँझ एक ठूलो मानव तस्करीको प्रयास विफल पार्दै सशस्त्र सीमा बल (SSB) को टोलीले सात नेपाली युवतीलाई उद्दार गरेको छ। उद्दार गरिएकामध्ये एक जना नाबालिग समेत रहेकी छन्। उनीहरूलाई अन्तर्राष्ट्रिय सीमा स्तम्भ ९० नजिक, नेपाल–भारत सीमा नजिकैको पानीटंकी बजारबाट साँझ ५ बजेतिर समातिएको हो। ती युवतीहरूलाई झुटा भारतीय परिचयपत्र बनाएर हङकङमा राम्रो रोजगारी दिने प्रलोभनमा परेका थिए।

SSB का अनुसार गिरोहले एक युवतीको नाममा यात्रा कागजात र यातायातको व्यवस्था गर्ने नाममा प्रति व्यक्ति ३ लाख रुपैयाँसम्म असुली गरेको थियो। उनीहरूलाई आधार, प्यान कार्ड र पासपोर्टजस्ता कागजात नक्कली रूपमा तयार पारेर भारतको पहिचान दिने योजना रहेको वरिष्ठ SSB अधिकारीले बताएका छन्। उद्दार गरिएका सबै युवतीहरू नेपालकै सङ्खुवासभा जिल्लाका बासिन्दा हुन्, जसको उमेर १६ देखि २१ वर्षको बीचमा छ।

SSB को ४१ औं बटालियनको ‘सी’ कम्पनीको क्विक रिस्पोन्स टिमले गोप्य सूचनाका आधारमा कारबाही गर्दै दुई जना शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकामध्ये एक ६१ वर्षीय जापान गुरुङ (उर्फ ‘दादा’) नेपालका हुन् भने अर्का दार्जिलिङ निवासी भारतीय नागरिक दिपेश गुरुङ हुन्। जापान गुरुङले पीडित युवतीहरूको अभिभावकबाट अग्रिम रकम उठाएका थिए। उनका मोबाइलमा भेटिएका तस्बिर र नक्कली कागजातहरूबाट उनी ठूलो मानव तस्करी सञ्जालमा संलग्न भएको पुष्टि हुने आधार भेटिएको छ। SSB अधिकारीका अनुसार दिपेश गुरुङले नेपाली महिलालाई सिलीगुडी लगेर नक्कली कागजात बनाउने काम गर्दै आएका थिए। उनी विगत दुई–तीन वर्षदेखि यस्तै कार्यमा संलग्न थिए भने जापानले यसअघि पनि कयौँ नेपाली महिलालाई दिल्ली, आसाम र भारतका विभिन्न ठाउँमा पुर्‍याएको तथ्य खुलेको छ। उद्दार गरिएका महिलाहरूको स्वास्थ्य परीक्षणपछि दुवै तस्करलाई खरिबारी प्रहरीलाई बुझाइएको छ। उनीहरूमाथि भारतीय नयाँ आपराधिक संहिता (BNS) र अनैतिक तस्करी (निवारण) ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ।

Leave a Reply