सूचना प्रविधिको तीव्र विकाससँगै त्यसको प्रभावकारी व्यवस्थापन र नियमन गर्न सरकारले “सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२” प्रतिनिधि सभामा पेस गरेको छ। यो विधेयक नेपालको विद्यमान साइबर कानुनहरूलाई सुधार गर्दै समकालीन प्रविधि, डिजिटल लेनदेन, र साइबर स्पेसमा बढ्दो चुनौतीहरूको समाधान गर्न ल्याइएको हो।
डिजिटल दस्तावेज र हस्ताक्षरको विश्वसनीयता कायम राख्न जोड
विधेयकको एक प्रमुख उद्देश्य विद्युतीय दस्तावेज (e-documents) र डिजिटल हस्ताक्षरको प्रमाणिकता तथा विश्वसनीयता सुनिश्चित गर्नु हो। यसले सरकारी तथा निजी क्षेत्रका डिजिटल कागजातहरूको कानुनी मान्यता र प्रयोगमा सहजता ल्याउने अपेक्षा गरिएको छ। विद्युतीय कारोवारको पारदर्शिता र प्रमाणिकता बढाउने यो प्रावधानले डिजिटल रूपान्तरणलाई थप सुदृढ बनाउनेछ।
साइबर स्पेसको सुरक्षाका लागि कानुनी आधार
विधेयकले साइबर स्पेसमा रहेका सूचना, तथ्याङ्क (data), वा विरण (information) को संरक्षण र व्यवस्थित प्रयोगलाई कानुनी ढाँचामा समेट्न खोजेको छ। हालका दिनहरूमा बढ्दो साइबर आक्रमण, डेटा चोरी, र अनधिकृत पहुँच जस्ता जोखिमलाई सम्बोधन गर्दै विधेयकले सूचना सुरक्षाको सुनिश्चितता गर्न कडाइ गरेको छ।
प्रचलित कानुनको संशोधन र एकीकरणको पहल
यो विधेयक पूर्ण रूपमा नयाँ कानुन होइन, बरु अहिले प्रचलित साइबर सुरक्षासम्बन्धी कानूनहरूको संशोधन र एकीकरणको प्रयास हो। नेपालमा रहेका छुट्टाछुट्टै प्रविधि र साइबर सुरक्षासम्बन्धी कानुनहरूलाई एउटै समग्र ढाँचामा ल्याई कार्यान्वयनमा स्पष्टता र सहजता ल्याउने विधेयकको उद्देश्य रहेको छ।
सूचना प्रविधि विकासको लागि नीतिगत संरचना
सरकारले यो विधेयकमार्फत डिजिटल नेपालको परिकल्पनालाई संस्थागत ढंगले अघि बढाउन खोजेको छ। सूचना प्रविधिको विकास, प्रवर्द्धन, र नियमनका लागि स्पष्ट नीतिगत संरचना निर्माण गर्नु यस विधेयकको मुख्य लक्ष्य हो। साइबर अपराधको नियन्त्रण, डाटा सुरक्षाको प्रत्याभूति, र नागरिकको डिजिटल अधिकारको संरक्षण गरी विधेयकले प्रविधिमैत्री समाज निर्माणमा योगदान दिने अपेक्षा गरिएको छ।