डिजिटल वालेट कम्पनी ‘पेवेल’ र ‘सजिलो पे’ को इजाजत खारेज

फोटो फिचर समाचार

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक दुई डिजिटल वालेट कम्पनीको लाइसेन्स खारेज गरेको छ। पेवेल नेपाल प्रा. लि. र सजिलो पे पेमेन्ट सर्भिसेज प्रा. लि. को भुक्तानी सेवा प्रदायकका रूपमा प्राप्त अनुमतिपत्र खारेज गरिएको बैंकले जानकारी दिएको छ।

राष्ट्र बैंकका अनुसार दुवै कम्पनीले भुक्तानी प्रणालीसम्बन्धी कानून तथा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशनहरूको उल्लंघन गरेकाले कडा निर्णय लिइएको हो। यसअघि यी कम्पनीहरूलाई अवैध सुन कारोबारमा संलग्न भएको आरोप लाग्दै आएको थियो।

२०७५ को भुक्तानी तथा फस्र्यौट ऐन र २०७६ को भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनका प्रावधानको उल्लंघन भएको पुष्टि भएसँगै राष्ट्र बैंकको सञ्चालक समितिको २०८२ जेठ ४ गतेको निर्णयअनुसार इजाजत खारेज गरिएको हो।

के थियो मुख्य आरोप?

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को अनुसन्धानले २०८१ सालमा अवैध सुन तस्करीमा पेवेल र सजिलो पे वालेट प्रयोग भएको देखाएको थियो। ६१ किलो सुनको कारोबारसँग सम्बन्धित एक खर्ब आठ अर्ब रुपैयाँ शंकास्पद रूपमा ट्रान्सफर गरिएको रिपोर्ट सार्वजनिक भएको थियो।

  • पेवेलबाट मात्रै करिब ८६ अर्ब रुपैयाको कारोबार भएको देखिएको थियो भने

  • सजिलो पेबाट २२ अर्ब रुपैयाको कारोबार भएकाे देखिएको थियो ।

राष्ट्र बैंकका अनुसार दुवै संस्थाले कार्यान्वयन गर्नुपर्ने कानुनी मापदण्ड पालना नगरेको, शंकास्पद कारोबारमा संलग्न भएको पुष्टि भएको, तथा मनी लाउन्डरिङ नियन्त्रण निर्देशन उल्लंघन भएकोले अनुमतिपत्र खारेज गरिएको हो।

Leave a Reply