
मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ठगी प्रकरणमा संलग्न अभियुक्त ज्योती बहादुर भण्डारी अन्ततः पक्राउ परेका छन्।
बर्दिया जिल्लाको बाँसगढी नगरपालिका–७ का स्थायी बासिन्दा ४२ वर्षीय भण्डारीलाई कम्बोडियाको PHNOM-PENH स्थित एनसिबी (NCB) को समन्वयमा कम्बोडियाबाट पक्राउ गरिएको हो। उनलाई सम्बन्धित ठगी मुद्दामा कारबाहीका लागि बुधबार नेपाल फिर्ता ल्याइएको हो।
भण्डारीमाथि मितेरी सहकारी संस्थाका बचतकर्ता र सञ्चालकहरूको करिब १४ करोड रुपैयाँभन्दा बढीको रकम ठगी गरेको आरोप छ। अनुसन्धान अनुसार, उनले यस ठगीमा सहकारीका तत्कालीन महाप्रबन्धक ज्योती गुरूङसँग मिलेमतो गरेको पाइएको छ।
अनुसन्धानका मुख्य तथ्यहरू:
- महाप्रबन्धक ज्योती गुरूङले सहकारीको करोडौं रकम विदेशमा रहेका ज्योती बहादुर भण्डारीलाई पठाएको भन्ने प्रारम्भिक तथ्य खुल्न आएको छ।
- भण्डारीले “विदेशबाट पार्सल रकम आएको” भन्दै सहकारीका सचिव कृष्ण बहादुर रानाको नाममा रहेको ग्लोबल आइएमई बैंक, इन्द्रचोक शाखामा ३३ करोड ११ लाख रुपैयाँ पार्सल गरी पठाएको भन्दै टोकनको फोटो WhatsApp मार्फत पठाएका थिए।
- सो रकम छुटाउन कमिसन बुझाउनु पर्छ भन्दै सहकारी पदाधिकारीहरूबाट ३ करोड ४४ लाख ७४ हजार ३२० रुपैयाँ ठगी गरेको प्रमाणित भएको छ।
कागजात किर्ते र पहिचान दुरुपयोग
भण्डारीको नाममा २ वटा राहदानी जारी भएको पाइएका छन्, जसमा फरक–फरक नागरिकता विवरण उल्लेख छन्। साथै, उनले अन्य व्यक्तिहरूको राहदानी तथा नागरिकताको विवरण परिवर्तन गरी स्क्याममा प्रयोग गरेको पाइएको छ।
अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले २०८१ कात्तिक १३ गते भण्डारीविरुद्ध “रेड नोटिस” जारी गरेको थियो। हाल केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) लाजिम्पाट मार्फत थप अनुसन्धान अघि बढाइएको छ।