#NepoKid ट्रेन्ड : नेपालमा युवापुस्ताको विद्रोही स्वर

समाचार फोटो फिचर

काठमाडौं—नेपालमा पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमा एउटा नयाँ आन्दोलनले आगो झैँ फैलिएको छ। नाम छ—#NepoKid। सुरुमा केही युवाले मजाक–व्यङ्ग्यका शैलीमा पोस्ट गरेका दृश्यहरू अहिले राजनीतिको गहिरो बहसमा परिणत भएका छन्। यो ह्यासट्याग अहिले मात्र मनोरञ्जनको ट्रेन्ड होइन, नेतृत्वप्रतिको आक्रोशसमाजभित्रको वर्गीय विभाजन प्रकट गर्ने अभिव्यक्ति बनेको छ।

Gen Z पुस्ता र विदेशमा रहेका युवा नेपालीहरूले यो अभियानलाई तिव्र रूपमा अगाडि बढाइरहेका छन्। उनीहरूले नेताका छोराछोरीले देखाउने ऐश्वर्यमय जीवनशैलीलाई प्रश्न गर्दै आएका छन्, जहाँ सामान्य नागरिक महँगो बजार, बेरोजगारी, कर संकलनको बोझ र बैंकिङ संकटसँग जुधिरहेका छन्। यसैबीच, नेताका परिवारका सदस्यहरूले महँगा गाडी चढेको, ब्रान्डेड कपडा र गहना लगाएको, विदेशमा रमाइलो यात्राको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेको देख्दा सर्वसाधारणको पीडा अझै बढेको छ।

“हाम्रो कर, उनीहरूको विलासिता”, “हामी तिर्छौँ, उनीहरू खर्च गर्छन्”, “पैसा कहाँबाट आयो?” जस्ता सन्देशहरूले हजारौँ युवाको मन जितेको छ। यसैबीच Pathao का प्रबन्ध निर्देशक असीममान सिंह बस्नेतले सार्वजनिक रूपमै टिप्पणी गर्दै भनेका छन्, “यो घृणा होइन, यो जवाफदेहिता हो। जनता अब तपाईंलाई उजागर गर्नेछन्, सामाजिक सञ्जालमै तपाईंका तस्वीरहरू खिचेर देखाउनेछन्।”

यो आन्दोलनको नालीबेली बुझ्दा सजिलो हुन्छ—नेताहरूका छोराछोरीले प्रदर्शन गरेको ऐश्वर्य स्वाभाविक रूपमा आर्जन गरिएको हो वा राजनीतिक पहुँच र भ्रष्टाचारमार्फत आएको हो भन्ने प्रश्नले नै यो बहसलाई बलियो बनाएको हो।

यस क्रममा चर्चामा आएका नामहरूमा नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवा, पूर्वस्वास्थ्य मन्त्री विरोध खतिवडाकी छोरी श्रिङ्खला खतिवडा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी गंगा दाहाल र नातिनी स्मिता दाहाल, पूर्वमन्त्री महेश बस्नेतकी छोरी अञ्जिला बस्नेत, तथा पूर्वगृह मन्त्री बालकृष्ण खाँडका छोरा अंकित खाँड सामेल छन्। यी नामहरू सामाजिक सञ्जालमा बारम्बार घुम्दा अभियान झनै तातिएको छ।

तर यो केवल सामाजिक सञ्जालमा सीमित छैन। अभियानकर्ताहरूले भदौ २३ (सेप्टेम्बर ८) मा बानेश्वरस्थित संघीय संसद वरिपरि प्रदर्शन गर्ने घोषणा गरिसकेका छन्। #NoMoreCorruption र #WakeUpChallenge जस्ता ह्यासट्यागमार्फत प्रदर्शनलाई राष्ट्रिय एजेन्डामा उचाल्ने तयारी भइरहेको छ।

युवाहरूले यस आन्दोलनलाई केवल भावनात्मक क्रोधमा सीमित नगरी व्यावहारिक राजनीतिक चेतनामा परिणत गर्न खोजेका छन्। TikTokमा सामग्री सिर्जना गर्ने सल्मा खड्काले स्पष्ट भनिन्—“परिवर्तनका लागि अरूको पर्खाइ नगरी, यो निर्वाचनमा सचेत भएर नेता रोज्नुपर्छ।” अर्का प्रयोगकर्ता उज्वलले नेताका छोराछोरीलाई नै चुनौती दिँदै भने, “तिमीहरू आफ्ना बाबुआमालाई सोध, उनीहरूले भ्रष्टाचार गरेका छन् कि छैनन्? त्यसपछि मात्र गाडीमा चढ।” यी शब्दहरूले स्पष्ट देखाउँछन् कि अब नयाँ पुस्ता केवल आलोचना गर्नमै सीमित छैन; उनीहरू प्रत्यक्ष प्रश्न सोध्न तयार भएका छन्।

तर यो आन्दोलनले नैतिक बहस पनि जन्माएको छ। मानवअधिकारकर्मी चरण प्रसाईले चेतावनी दिएका छन्—“आफ्ना अभिभावकका भनिएका कार्यका कारण छोराछोरीलाई सार्वजनिक रूपमा दोषी ठहर गर्नु संविधानले दिएको सम्मानजनक जीवनको अधिकारविपरीत हुन्छ। अपराध प्रमाणित नभएसम्म परिवारका अन्य सदस्यलाई दोष दिनु अनुचित हुन्छ।” यो दृष्टिकोणले एउटा गम्भीर प्रश्न उब्जाएको छ—व्यक्तिगत स्वतन्त्रता र परिवारको राजनीतिक जिम्मेवारीबीचको सीमारेखा कहाँसम्म हो?

यसैबीच, आलोचना भोगिरहेका केही व्यक्तिहरूले सामाजिक सञ्जालमै प्रतिक्रिया दिँदै आरोपलाई निराधार भनेका छन्। उनीहरूले “हाम्रो नाम बदनाम गर्न खोजिएको हो” भने पनि, जनताको आक्रोश थामिएको छैन। कारण स्पष्ट छ—सामान्य नागरिकले दैनिक जीवन धान्नै मुस्किल परेको बेला नेताका परिवार ऐश्वर्यमय जीवनशैलीमा रमाइरहेको तस्बिरले असमानताको खाडललाई झन् गहिरो बनाइदिएको छ।

समाजशास्त्रीहरू भन्छन्—यो केवल डिजिटल क्रोध मात्र होइन, सामाजिक मनोविज्ञानमा बाक्लिँदै गएको वर्गीय विभाजन र राजनीतिक बेवास्ताप्रतिको विद्रोह हो। लामो समयदेखि नागरिकले कर तिर्दै आएका छन्, तर सुविधा पाएका छैनन्। विकासका वाचा बारम्बार सुन्ने गरेका छन्, तर परिणाम देख्न सकेका छैनन्। यसबीचमा नेताका छोराछोरी विदेशी सपिङ मलमा महँगा ब्रान्ड किन्दै गरेको दृश्य सार्वजनिक हुँदा जनताले आफूलाई ठगिएको महसुस गरेका छन्।

यसरी हेर्दा #NepoKid केवल एउटा ह्यासट्याग होइन, यो नयाँ पुस्ताको विद्रोही स्वर हो। डिजिटल माध्यमले दिएको शक्ति अब केवल मनोरञ्जन वा सूचना आदानप्रदानको सीमामा छैन, यो राजनीतिक उत्तरदायित्व खोज्ने प्लेटफर्म मा परिणत भएको छ। यस आन्दोलनको दीर्घकालीन प्रभाव अझै स्पष्ट छैन। कतिपयले यसलाई क्षणिक क्रोध ठानिरहेका छन् भने अरूले यसलाई नयाँ राजनीतिक संस्कारको बीउका रूपमा देखिरहेका छन्। तर एक कुरा निश्चित छ—युवापुस्ता अब मौन बस्नेवाला छैन

Leave a Reply