सफराज खड्का पक्राउ: नक्कली कागजात काण्ड

समाचार फोटो फिचर

केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले विभिन्न शैक्षिक, सरकारी तथा बैंक सम्बन्धी नक्कली कागजातहरू बनाउने गिरोह हरुको पर्दाफास गर्दै आइरहेको छ। सोही क्रममा काठमाडौं महानगरपालिका–१० बसोबास गर्दै आएका ५२ वर्षीय सफराज खड्कालाई पक्राउ गरिएको छ। CIB को विशेष टोलीले २०८२/०३/३१ गते महाराजगञ्ज चोक नजिकबाट सफराजलाई फेला पारी पक्राउ गरेको हो। प्रहरीका अनुसार खड्काले विगत २ वर्षदेखि आफ्नै निजी पसलमा विभिन्न निकायबाट जारी हुने कागजातहरू नक्कली रुपमा तयार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

उनीबाट बरामद सामग्रीहरू हेर्दा उनले बनाउने कागजातहरूमा धेरैजसो प्रमुख सरकारी तथा शैक्षिक संस्था समावेश थिए। शैक्षिक संस्थातर्फ त्रिभुवन विश्वविद्यालय (TU), प्राविधिक शिक्षा परिषद् (CTVT), उच्च माध्यमिक शिक्षा परिषद् (HSEB), राष्ट्रिय परीक्षा बोर्ड (NEB), साथै विभिन्न निजी स्कुल र कलेजहरूको नाम प्रयोग गरिएको भेटिएको छ। त्यस्तै सरकारी निकायहरूमा मालपोत कार्यालय, नापी कार्यालय, वडा कार्यालय, नगरपालिका, कर कार्यालय र काठमाडौं जिल्ला अदालतका नाममा किर्ते लेटरप्याड, प्रमाणपत्र तथा दस्तावेजहरू बनाइएको देखिएको छ। उनले प्रमुख राजनीतिक दलहरूको नक्कली लेटरप्याडदेखि लिएर विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको स्टेटमेन्ट, लेटरप्याड र रबर स्ट्याम्पहरू समेत किर्ते ढंगले तयार गरेका थिए। प्रहरीले सफराज खड्काको डेराबाट मोबाइल थान–१ सहित विभिन्न दशी प्रमाणहरू समेत बरामद गरेको छ।

सामाजिक सञ्जालमार्फत अर्डर, प्रमाणपत्र उत्पादन र वितरण

प्रहरी अनुसन्धानमा खुल्न आएको विवरण अनुसार खड्का सामाजिक सञ्जाल– विशेषगरी WhatsApp र Viber जस्ता म्यासेजिङ एपहरू प्रयोग गरेर ग्राहकहरूसँग प्रत्यक्ष सम्पर्क गर्थे। उनले यिनै एपमार्फत अर्डर लिएर कागजात तयार पार्ने र सम्बन्धित व्यक्तिलाई बुझाउने गर्थे। प्रारम्भिक मूल्याङ्कनअनुसार, खड्काले तयार पारेका नक्कली प्रमाणपत्रहरू नौकरी, वैदेशिक रोजगारी, पढाइ, सरकारी सेवा र बैंकिङ कारोबार जस्ता क्षेत्रहरूमा प्रयोग हुँदै आएका थिए। यो कार्य नेपालको कानुन अनुसार गम्भीर प्रकृतिको लिखत सम्बन्धी कसूरमा पर्दछ, जसले राज्यको कानुनी प्रणालीमा गहिरो धक्का पुर्‍याउँछ र सर्वसाधारणको संस्थागत विश्वासमा गम्भीर क्षति पुर्‍याउँछ।

पक्राउ र अनुसन्धानको अवस्था

केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले खड्कालाई काठमाडौं महानगरपालिका वडा नम्बर ३ महाराजगञ्ज चोक नजिकबाट पक्राउ गरी सोही दिन अर्थात २०८२ असार ३१ गते काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप लिई थप अनुसन्धान अघि बढाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, यस आपराधिक क्रियाकलापमा अन्य व्यक्तिहरूको पनि संलग्नता हुन सक्ने देखिएको छ, र सोही दिशामा अनुसन्धान जारी रहेको जनाइएको छ।

प्रहरीको अपिल: यस्तो अपराधबाट टाढा रहनुहोस्

CIB ले आम नागरिकमा चेतना फैलाउने उद्देश्यले अपिल गर्दै भनेको छ— “यस किसिमका गैरकानुनी कार्यमा संलग्न नहुनुहोस्। यस्ता गतिविधि देखेमा वा थाहा पाएमा तत्काल नजिकको प्रहरी कार्यालय वा CIB मा जानकारी गराउनुहोस्।” प्रहरीले स्मरण गराएको छ कि नक्कली प्रमाणपत्र वा दस्तावेज उत्पादन गर्नु गम्भीर आपराधिक कार्य हो र यसमा संलग्न हुनेलाई कडा कानुनी कारबाही गरिनेछ।

Leave a Reply